सरकारले गठन गर्यो विमान दुर्घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग

काठमाडौं । सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ ।

मन्त्रिपरिषद्को बुधबार बसेको आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

आयोगको संयोजक नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमन हुने भएका छन् । त्यसैगरी सदस्यहरूमा दिपुराज ज्वारचन, डा। सुदिप भट्टराई सञ्जय अधिकारी र सदस्य सचिवमा मुकेश डंगोल रहेका छन् ।

सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङका अनुसार आयोगलाई जाँचबुझ गरी ४५ दिनभित्र प्रतिवेदन बुझाउन कार्यदेश दिएको छ ।

यस्तै, विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि, बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले शोक मनाउने निर्णय गरेको हो ।

बुधबार बिहान पोखरा जान उडेको सौर्य एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । एक जना घाइते भएका थिए ।

+