सातबुँदे सहमतिको जगमा बनेको ओली सरकारको एकबर्ष पूरा, सातबुँदे सहमतिको औचित्य पुष्टि नगरेरै बित्यो एक बर्ष

 तीन तीन महिनामा विश्वासको मत लिने र नौ महिनामै सरकार परिवर्तन हुने परिस्थितिलाई पूर्णविराम दिँदै प्रमुख दुई दलको समझदारीमा सत्तासहयात्रा शुरु भएको एक वर्ष पुगेको छ ।

कांग्रेस र एमालेवीच भएको सातबुँदे सहमतिको जगमा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री नियुक्त भएको एक वर्ष पूरा भएको हो ।

संसदीय राजनीतिमा मुख्य प्रतिस्पर्धी दल कांग्रेस र एमालेबीच खास–खास संकटमा सत्ता साझेदारीका उदाहरण छन् ।

केही विशिष्ट कालखण्डमा उनीहरूले सत्ता साझेदारीको औचित्य पुष्टि गरेका दृष्टान्त पनि छन् ।

२०५६ मा आमचुनाव र २०७२ मा नयाँ संविधान जारीका लागि भएको सत्ता गठबन्धन त्यसका उदाहरण हुन् ।

संविधान संशोधन, सुशासन, आर्थिक सुधार र विकासका लागि २०८१ असार १७ गते सातबुँदे सहमति गरेर सत्ता साझेदारी गरेका कांग्रेस र एमालेले गठबन्धनको औचित्य पुष्टि नगरेरै एक वर्ष विताएका छन् ।

चीनसँगको बीआरआई र गभर्नर नियुक्तिको विषयले सत्तागठबन्धन धर्मराएको थियो ।

सत्तागठबन्धन नै अप्ठेरो स्थितिमा परेपछि संयुक्त कार्यदल नै गठन गरेर चीनसँग सम्झौताका लागि बीआरआई फ्रेमवर्क सम्झौताको मस्यौदा तयार गरिएको थियो ।

प्रधानमन्त्री ओलीले परराष्ट्रमन्त्री आरजु राणालाई विश्वासमा लिएर चीनसँग बीआरआई सहमति गरेपनि यो सहमति ऋण हो वा अनुदान अझैसम्म स्पष्ट भएको छैन ।

गठबन्धनभित्र असन्तुष्टि चुलिँदै जाँदा प्रधानमन्त्री ओलीले पटक–पटक कांग्रेसलाई सहमतिअनुसार नै सत्ता हस्तान्तरण गर्ने दोहो¥याउँदै आउनु भएको छ ।

गठबन्धनमा अविश्वास र संकट गभर्नर नियुक्तिको बेला पनि देखियो । महत्वपूर्ण दुई विषयका क्रममा आएको सत्ता संकट टरेको थियो ।

कांग्रेसभित्र जति नै अविश्वास भएपनि सभापति शेरबहादुर देउवाले विश्वास गर्दासम्म यो सरकार तलमाथि हुँदैन ।

कांग्रेस–एमाले मुख्य प्रतिस्पर्धी दल भएको र एक वर्षको अवधिमा यसको औचित्य पुष्टि हुन नसकेकाले विकल्पमा सोच्नुपर्ने बेला भएको बुझाइ कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको छ ।

जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीले पनि संविधान संशोधन लगायतका प्रक्रिया अघि बढाउन नसकेकाले गठबन्धनको औचित्य नरहेको भन्दै समर्थन फिर्ताको निर्णय लिइसकेको छ ।

संविधान संशोधनको विषयलाई मात्रै लिएर गठबन्धन सरकारको औचित्य पुष्टि हुन नसकेको तर्कलाई एमालेले भने स्वीकार गर्दैन ।

उपमहासचिव प्रदीप ज्ञवाली संविधान संशोधन मात्रै गठबन्धनको आधार नरहेको बताउँनु हुन्छ । शासकीय स्थिरताका लागि संविधान संशोधनको गृहकार्य दुई दलले गरिरहेको उपमहासचिव ज्ञवालीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले सुशासनमा पटक–पटक प्रतिवद्धता जनाउँदै त्यसप्रति हुटहुटी प्रस्तुत गरेपनि व्यवहारतः सुशासन कायमको सवालमा सरकारमाथि प्रश्न उठिरहेका छन् ।

सरकार गठनको एक वर्षसम्म पनि मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति सार्वजनिक हुनसकेको छैन ।

सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङ मन्त्रिपरिषद्का सदस्यको सम्पत्ति अद्यावधिक भएको र सम्पत्ति सार्वजनिकको विषय निजी मामिला रहेको बताउनाले सुशासनमा गडबढी गरेको अन्य थुप्रै दृष्टान्त रहेका छन् । सरकारले आफूले तोकेकै अवधिमा विद्यालय शिक्षा विधेयक पारित गर्न सकेन ।

नीतिगत निर्णयलाई परिभाषित गर्दै अख्तियारको अनुसन्धानको दायरामा ल्याउने अख्तियारसम्बन्धी विधेयक पनि सरकारकै हस्तक्षेपका कारण अघि बढ्न सकेको छैन ।

सरकारले संविधानले नै व्यवस्था गरेको ६ सदस्यीय संवैधानिक परिषद्को प्रावधान खण्डित हुनेगरीको प्रावधानसहित संवैधानिक विधेयक संसद्बाट पारित गराएको छ ।

प्रधानमन्त्री ओलीले कुलपतिका हैसियतमा त्रिभुवन विश्वविद्यालयको वार्षिक नीति तथा कार्यक्रम नै रोकिदिएर सुशासनबारे पटकपटकको प्रतिवद्धतामा प्रश्न उठाएको थियो ।

यता, स्वार्थ समूहको माग सम्बोधन हुनेगरी भूमिसम्बन्धी विधेयक फास्टट्र्याकबाट पारित गराउन लागेको भनेर कांग्रेस र प्रतिपक्षीबाटै विरोध भएपनि यसलाई फास्टट्र्याकबाटै पारित गराउन एमालेले जोडबल गरिरहेको छ ।

अहिले पनि सो विधेयकमाथि ५५ वटा संशोधन प्रस्ताव दर्ता छन् ।

सिथिल अर्थतन्त्रमा सुधार गर्ने प्रतिवद्धता जनाउँदै सरकाले नीतिगत सुधार अघि बढाएको थियो ।

राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो ११ महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार केही आर्थिक सूचांक आशाजनक छन् ।

११ महिनाको अवधिमा मुद्रास्फीति दर २ दशमलव ७२ प्रतिशत मात्रै छ । गतवर्ष यही समयमा मुद्रास्फीति ४ दशमलव १७ प्रतिशत थियो ।

विदेशी मुद्राको सञ्चिति ११ महिनामा १८ अर्ब ६५ करोड पुगेको छ । ओली सरकार बन्दा गत वर्ष असारमा १५ अर्ब २७ करोड थियो । हाल शोधानान्तर स्थिति सकरात्मक छ ।

११ महिनाको अवधिमा शोधानान्तर स्थिति ४ खर्ब ९१ अर्ब ४४ करोड बचतमा छ । ११ महिनामा आयात १३।१ प्रतिशतले वृद्धि हुँदा निर्यात ७७।८ प्रतिशतले बढेको छ ।

११ महिनामा २ खर्ब ४७ अर्ब ५७ करोडको सामान निर्यात भएको छ । ११ महिनामा व्यापार घाटा भने ६ दशमलव ३ प्रतिशतले बढेर १३ खर्ब ९७ अर्ब २३ करोड पुगेको छ ।

११ महिनाअघि व्यापार घाटा १ दशमलव ७ प्रतिशतले घटेको थियो ।

+