८४८ जनशक्ति रहेको सशस्त्रको हुल तथा दंगा व्यवस्थापन विशेष गणको पहिलो कमान्डर बने एसएसपी कार्की

गृह मन्त्रालयले सशस्त्र प्रहरी बलको नयाँ गण दंगा नियन्त्रण रेजिमेन्ट गण नीलबाराही काठमाडौंको कमान्ड सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० ध्रुवबहादुर कार्कीलाई सुम्पेको छ । 

सशस्त्र प्रहरी निरीक्षक सिसं २ बेसिकका एसएसपी कार्कीले अब ८ सय ४८ जनशक्ति रहेको सो गणको कमान्ड गर्नेछन् । 

सशस्त्र प्रहरी बल नेपालको हालै स्वीकृत भएको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन–२०८२ ले पहिला १८ नम्बर गण रहेको सो गणलाई दंगा नियन्त्रण रेजिमेन्ट गणमा स्तरोन्नति गरेको थियो । काठमाडौ उपत्यकाको विद्यमान शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउन यो गणलाई रेजिमेन्ट गणको रूपमा स्तरोन्नति गरी हुल तथा दंगा व्यवस्थापन विशेष गण बनाइएको हो । 

सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० को कमान्डमा रहने यो गणमा दुई एसपी, ७ डीएसपी, २० इन्सपेक्टरसहित ८ सय ४८ जनशक्ति रहने व्यवस्था गरिएको छ । 

जसअनुसार यसअघि एसपी विक्रम होमागाईं र गेहेन्द्रबहादुर भण्डारीलाई दंगा नियन्त्रण रेजिमेन्ट गणमा सरुवा गरिएको हो । 

एसएसपी कार्की गत साउनमा मात्र एसएसपीमा बढुवा भएका थिए । वरीयतामा अघि भएपनि यसअघि भएका दुई वटा बढुवामा उनलाई छुटाइएको थियो । तेस्रो पटक गरिएको ६ जनाको बढुवामा भने उनलाई पहिलो नम्बरमै बढुवा सिफारिस गरिएको थियो । एसएसपीमा बढुवा भएपछि उनलाई नम्बर ५ बाहिनीको सहबाहिनीपतिको रूपमा पदस्थापन गरिएको थियो । 

सशस्त्र प्रहरीमा उनलाई काबिल, इमानदार र काम गर्न सक्ने अधिकृतको रूपमा चिनिन्छ । गणपति रहँदा उनले दुई वटा गणलाई उत्कृष्ट बनाएका थिए । दुई दुई वटा गणलाई उत्कृष्ट बनाएको र वरीयतामा अघि हुँदा पनि उनलाई छुटाइएकोमा त्यसबेला नेतृत्वको आलोचना भएको थियो । 

गुल्मी घर भएका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कार्की नातामा नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीका भाइ पर्छन् । प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल नेपाल प्रहरीको १११ औँ टोलीका ब्याचमेट पनि हुन् ।

+