रुकुमपश्चिमका भूकम्प प्रभावितले १९ महिनासम्म पनि पाएनन् पहिलो किस्ता

रुकुमपश्चिमका दुई हजार भूकम्प प्रभावितले भूकम्प गएको १९ महिना पूरा हुँदासम्म पनि अस्थायी आवास (टहरा) निर्माणको पहिलो किस्ताको रकम नआएको गुनासो भइरहेको छ ।

२०८० कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दू भएर गएको भूकम्पबाट घर क्षति भएका दुई हजार एक जना प्रभावितले अझैसम्म पनि टहरा निर्माणको रकम पाएका छैनन् ।

प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिका संयोजक कुलबहादुर जिसीका अनुसार मुसीकोट नगरपालिकाका एक हजार ३५६, त्रिवेणी गाउँपालिकाका २४३ र बाँफीकोट गाउँपालिकाका ४०२ जना भूकम्प प्रभावितले टहरा निर्माणको रकम पाएका छैनन् ।

उनीहरूलाई टहरा निर्माण पहिलो र दोस्रो किस्ताबापत १० करोड ५० हजार रुपियाँ आवश्यक रहेको छ ।

जिल्लामा ३४ हजार ९९७ लाभग्राही रहेका छन् । जसमध्ये ३२ हजार ९९६ जनाले पहिलो किस्ता र ३१ हजार ८८१ लाभग्राहीका लागि रकम निकासा पठाइसकिएको छ ।

लाभग्राही कायम भएकामध्ये दुई हजार एक जनाको फाइल तोकिएको मितिमा आउँदा पनि विपत् पोर्टलमा समावेश हुन छुटेका कारण टहरा निर्माणको रकम नआएको बताइएको छ ।

बाँफीकोट गाउँपालिकाका अध्यक्ष जनककुमार बाँठाले अहिलेसम्म प्रभावितलाई प्राधिकरणले चिन्न नसकेको बताए ।

पुनर्निर्माण नै सकिनुपर्ने बेलामा टहराको रकम नआउनु दुर्भाग्य भएको उनको भनाइ छ ।

त्रिवेणी गाउँपालिकाका अध्यक्ष गणेशकुमार केसीले दुई हजार एक जना भूकम्प प्रभावितले टहरा निर्माण गरेर पनि राज्यले दिने भनेको अनुदान नपाउनु संवेदनशील विषय रहेको जनाए ।

यस विषयमा राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा प्राधिकरणका उपसचिव ज्ञाननाथ ढकालले पहिलो किस्ता नै नपाएका दुई हजार एक जनाको विषयमा प्राधिकरणको कार्यकारी समितिमै कुरा लग्नुपर्ने अवस्था रहेको बताए ।

भूकम्पका कारण रुकुमपश्चिममा मात्र ५३ जनाको मृत्यु भएको थियो भने ४०७ जना घाइते भएका थिए ।

२६८ वटा विद्यालयमा क्षति भएको थियो भने बालबालिका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, दीर्घरोगी र अपाङ्गता भएका व्यक्तिसमेत गरेर २५ हजार ५८४ जनसङ्ख्या प्रभावित भएको थियो ।

जिल्ला विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको तथ्याङ्क अनुसार १२ वटा प्रहरी कार्यालयमा क्षति भएको थियो भने ४० करोड १० लाख बराबरको सडक क्षति भएको थियो ।

+