‘हनी ट्र्याप’ प्रकरणमा मुछिएकी निलम्बित प्रहरी निरीक्षक शाही अदालतमा हाजिर

‘हनी ट्र्याप’ प्रकरणमा रकम असुली गरेको आरोप लागेकी निलम्बित प्रहरी निरीक्षक बिनुकुमारी शाही आज आइतबार ललितपुर जिल्ला अदालतमा हाजिर भएकी छन् । अदालतका प्रवक्ता राम सजिवन महतोले निलम्बित पहरी निरीक्षक शाही अदालतमा उपस्थित भएको उनी उपस्थित भएसँगै आजैबाट थुनछेक बहस सुरु हुने बताए ।

प्रहरी प्रभाग भैँसेपाटीको इन्चार्ज रहेका बेला ‘हनी ट्र्याप’को माध्यमबाट रकम असुली गरेको आरोप उनीमाथि लागेको थियो । यसै प्रकरणमा जिल्ला अदालत ललितपुरले यस अघि ताजमूल इस्लामलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

त्यस्तै, प्रहरी हवल्दार महेन्द्र हमाललाई तारेखमा र सुस्मा विकलाई दुई लाख रुपैयाँ धरौटीमा र भीमादेवी थापालाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिइएको थियो । निलम्बित शाही र अर्का एक जना पुरुष दर्शन पोखरेल फरार रहेका थिए । यो प्रकरणमा उनीहरूमाथि मिलेमतोमा एक व्यवसायीलाई बलात्कारको मुद्दामा फसाउने भन्दै ३० लाख रुपैयाँ लेनदेन गरेको खुलेको थियो ।


+