कर्जा प्रवाह नहुँदा बैंकमा थुप्रियो नगद, राष्ट्र बैंकले आज पनि ४० अर्ब रुपैयाँ प्रणालीबाट खिच्दै

कर्जा प्रवाह हुन नसक्दा बैंकमा अधिक तरलता थुप्रिए पछि पछिल्लो समय नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै आइरहेको छ । राष्ट्र बैंकले आज मंगलबार पनि बजारमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न ४० अर्ब रुपैयाँ प्रणालीबाट खिच्ने भएको छ ।

आज मंगलबार उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने केन्द्र बैंकले जनाएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् १२ दिनका लागि ४० अर्ब रुपैयाँ तान्ने भएको हो ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । पुस २१ गते साँवा र ब्याज भुक्तानी मिति निर्धारण भएको पनि केन्द्र बैंकले जनाएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

यसअघि केन्द्रीय बैंकले ७ गते ६० अर्बको निक्षेप संकलन उपकरण जारी गरेकोमा १४ बैंकहरुले १६ आवेदन मार्फत ३६ अर्ब ८५ अर्ब बोल गरेका थिए । जसमध्ये प्रक्रिया पुगेको ३४ अर्ब ८५ करोड मात्र राष्ट्र बैंकले लिएको छ । जसको औसत ब्याजदर २।९९ प्रतिशत कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको पुस ९ गते सम्ममा निक्षेप संकलन उपकरण मार्फत ३३ पटकमा १२ खर्ब ३० अर्ब रुपैयाँ उठाएको छ । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।


+